Cahurast Nepal

६ पुस । काठमाडौँ । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट)नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक (इएससी) अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले एप्सको शुभारम्भ गर्दै पछिल्लो पटक विकास भएका विज्ञान तथा प्रविधिको क्षेत्रलाई मानव अधिकारको क्षेत्रमा उपयोग गर्न सकेमा स्थानीय तहदेखि नै शुसासन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत समेट्ने बताइएको छ । एप्समा सरकारका विभिन्न निकाय तथा सेवा प्रदायकबाट नागरिकले प्राप्त गर्ने सेवालाई समेत समावेश गरिएको छ ।

यसअघि सो एप्स धादिङका ५२ वटा विद्यालय र सात वटा स्वास्थ्य चौकीमा परीक्षणका रुपमा चार महिनादेखि सञ्चालनमा ल्याइएको थियो भने हाल सिन्धुपाल्चोकमा पाइलट प्रोजेक्टका रुपमा संस्थाले काम गरिरहेको जानकारी गराइएको थियो ।

आयोजक संस्थाका अध्यक्ष विष्णुपुकार श्रेष्ठले मुलुकको समृद्धिका लागि माथिल्लो तहदेखि नै हुने भ्रष्टाचारलाई नियन्त्रण गरी तल्लो तहदेखि नै विकासका कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले केही वर्षमा सिन्धुपाल्चोक जिल्लाको सबै विद्यालयहरुमा ‘सदाचर क्लब’ गठन गरी यी अधिकारका बारेमा जानकारी गराउने उद्देश्य संस्थाको रहेको बताउनु भएको थियो ।

प्रविधिमार्फत आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बारे आम नागरिकलाई बुझाउन र त्यसको उपयोग गर्न जागरुक गर्ने उद्देश्यले काहुरास्ट नेपालले योङ इनोभेसनको प्राविधिक सहयोगमा उक्त एप बनाएको हो ।

सो अवसरमा नागरिक समाजका अगुवा चरण प्रसाई, गैसस महासंघका अध्यक्ष गोपाल लम्साल, गोगो फाउण्डेसनका अध्यक्ष केदार खड्का, स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भण्डारी लगायतका सहभागीहरुले आफ्ना भनाई राख्नु भएको थयो ।

९५ पटक
प्रतिकृया दिनुहोस्